जनकपुरका ६ विद्यालयमा कानुनी सचेतना अभियान सम्पन्न

२०८३ असार २०, शनिबार १३:०९

जनकपुरधाम । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन, साइबर अपराध र बालविवाहजस्ता समस्याप्रति विद्यालय तहबाटै सचेतना फैलाउने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल अन्तर्गत दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले जनकपुरधामका विभिन्न विद्यालयमा तीनदिने कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत सामुदायिक तथा संस्थागत गरी छ वटा विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रियात्मक रूपमा कानुनी विषयमा छलफल गरिएको थियो। कार्यक्रममा लागुऔषध दुव्र्यसनका असर, साइबर अपराधबाट बच्ने उपाय, बालविवाहसम्बन्धी कानुनी व्यवस्था तथा यस्ता सामाजिक विकृतिको रोकथाममा विद्यार्थीको भूमिकाबारे जानकारी गराइएको थियो।

सचेतना कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरूलाई आफ्नो अधिकारसँगै कर्तव्य र जिम्मेवारीबारे पनि जानकारी दिइएको थियो। विद्यालयमै कानुनी ज्ञानको आधार तयार गर्न सके भविष्यमा जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रम श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप), ओम इन्टरनेशनल सेकेन्डरी स्कुल, श्री जनता माध्यमिक विद्यालय (देवपुरा), राष्ट्रिय माध्यमिक विद्यालय (रुपैठा बेल्ही), श्री सरस्वती माध्यमिक विद्यालय (कनपट्टी) तथा श्री राष्ट्रिय आधारभूत विद्यालय (बेगा पिपराढी) मा सम्पन्न गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पाठ्यपुस्तकमा सीमित कानुनी ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन्। विशेषगरी किशोर–किशोरीलाई लक्षित गरी सञ्चालन गरिएको सचेतना कार्यक्रमले सामाजिक विकृति न्यूनीकरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग तथा समन्वय गर्ने जनकपुरधाम उपमहानगरपालिका, सम्बन्धित विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूप्रति आयोजक विद्यार्थी टोलीले आभार व्यक्त गरेको छ।

विधि अध्ययन केवल अदालत वा कानुनी पेशासम्म सीमित नरही समाजमा कानुनी चेतना अभिवृद्धि गर्ने माध्यम पनि हुन सक्छ भन्ने सन्देश यस कार्यक्रमले दिएको सहभागीहरूको भनाइ छ।

सचेत नागरिक, सुरक्षित मधेश, समृद्ध नेपाल भन्ने मूल सन्देशका साथ सम्पन्न यो कार्यक्रमले विद्यालय तहमा कानुनी शिक्षाप्रति रुचि बढाउनुका साथै सुरक्षित र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?