काठमाडौं। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी देशका सात जिल्लामा बर्डफ्लु रोग पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
पन्छीजन्य उच्च संक्रामक रोगका रूपमा रहेको बर्डफ्लु पछिल्लो समय देशका ११ जिल्लामा फैलिएको थियो। पशुसेवा विभागका अनुसार अन्य जिल्लामा नियन्त्रण भए पनि काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी चार जिल्लामा भने अझै यो रोग नियन्त्रणमा आउन सकेको छैन।
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार बर्डफ्लु पन्छीहरूमा लाग्ने र उच्च मृत्युदर भएको संक्रामक रोग भएकाले यसको रोकथामका लागि विशेष सतर्कता अपनाइएको छ।
रोग देखा परेका क्षेत्रहरूमा संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वय तथा सहकार्यमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। विभागको प्राविधिक टोलीले संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादनका सामग्रीहरू नष्ट गरी सुरक्षित व्यवस्थापन गरेपछि सात जिल्लामा रोग नियन्त्रण सम्भव भएको हो।
रोग नियन्त्रण अभियानका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाउनुका साथै नियमित गस्ती परिचालन गरेर अवैध रूपमा ओसारपसार गरिएका पन्छीहरू समेत नष्ट गरेको थियो।
हाल प्रभावित अधिकांश जिल्लामा रोग नियन्त्रणमा आइसकेकाले पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारलाई केही खुकुलो बनाइएको विभागले जनाएको छ।






