सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

२०८३ श्रावण ११, सोमबार १४:१४

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई पक्षीय झडपपछि उत्पन्न तनाव थप भड्किएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरेको छ।

जारी कर्फ्यु आदेशको प्रवाह नगरी सोमबार बिहानैदेखि प्रदर्शनकारीहरूले सडकमा टायर बालेर तोडफोड र आगजनी सुरु गरेपछि हतियारधारी सेनाको टोली ब्यारेकबाट निस्किएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो उपस्थिति हुँदाहुँदै पनि कर्फ्यु अवज्ञा गर्दै उत्तेजित भिड नियन्त्रण बाहिर जान थालेपछि सेनाको सहयोग लिनुपरेको हो।

बख्तरबन्द गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगञ्ज पुगेर गस्ती बढाएपछि अवस्था नियन्त्रणमा आउन थालेको स्थानीय प्रशासनले जनाएको छ। यद्यपि देवानगञ्ज, लौकही, हरिनगर र जिल्ला सदरमुकाम इनरुवासम्म प्रदर्शन फैलिएकाले अवस्था अझै संवेदनशील रहेको छ।

आइतबार राति धार्मिक झण्डा हटाउने र मन्दिरमा ठूलो स्वरमा डीजे बजाएको विषयलाई लिएर दुई समुदायबीच भिडन्त हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

सो क्रममा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ। झडप र प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् र उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सुरक्षा चुनौती उच्च बनेपछि कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार प्रदेशका अन्य जिल्लाहरूबाट समेत अतिरिक्त प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरीमा झिकाइएको छ।

यसैबीच, गृह मन्त्रालयले गृहमन्त्रीको अध्यक्षतामा आपत्कालीन बैठक बसी घटनाको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति गठन गरिसकेको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा व्यवस्था कडा बनाउँदै शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?