ओमानको मध्यस्थतामा इरान-अमेरिका सहमतिको दिशामा, ट्रम्पद्वारा सैन्य हमला तत्काल रोक्न निर्देशन

२०८३ श्रावण १०, आईतवार १२:००

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि निरन्तर हुँदै आएको दैनिक सैन्य हमला तत्कालका लागि रोक्न अमेरिकी सेनालाई निर्देशन दिएका छन्।

लगातार १३ दिनसम्म दैनिक रूपमा इरानी सैन्य ठेगानाहरूमा भइरहेको अमेरिकी आक्रमणको शृङ्खलालाई भङ्ग गर्दै राष्ट्रपति ट्रम्पले शुक्रबार नयाँ हमला नगर्न निर्देशन दिएको निर्णयबारे जानकार स्रोतहरूले खुलाएको अमेरिकी मिडिया एक्सियोसले रिपोर्ट गरेको छ ।

यो निर्णय ट्रम्पको कूटनीतिक संवादका लागि थप समय उपलब्ध गराउने चाहना र ठूलो युद्ध मा प्रवेश गर्नुअघि हाल भइरहेका सीमित सैन्य हमलाहरूको प्रभावकारिता आफ्नो अन्तिम विन्दुमा पुगिसकेको अमेरिकी आँकलनको परिणामका रूपमा हेरिएको छ।

राष्ट्रपति ट्रम्पले सैन्य हमला रोक्ने निर्देशन दिए तापनि अमेरिकी सेना जुनसुकै बेला छोटो सूचनामै पुनः आक्रमणमा उत्रिन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। अमेरिकी रक्षा मन्त्रालयले सम्भावित व्यापक सैन्य कारबाहीका लागि रणनीति र योजनाहरू तयार गरिरहेको भए पनि ट्रम्पले अहिल्यै त्यो दिशामा अघि बढ्न औपचारिक आदेश दिइसकेका छैनन्।

विगत दुई सातादेखि हरेक अपरान्ह अमेरिकी सेनाले प्रस्तुत गरेका हमलाका योजनाहरूलाई राष्ट्रपति ट्रम्पले स्वीकृति दिने र केही घण्टामै ती आक्रमणहरू कार्यान्वयन हुने गरेका थिए। तर शुक्रबार सेनाले सोही प्रकारको योजना पेस गर्दा ट्रम्पले स्वीकृति नदिई सैन्य कारबाही रोक्न निर्देशन दिएका हुन्।

यसैबीच, अमेरिकी हमलापछि उत्पन्न हुन सक्ने इरानी जवाफी कारबाहीको आशङ्का गर्दै इजरायली सुरक्षा मन्त्रिपरिषद् र इजरायली रक्षा बल शुक्रबार उच्च सतर्कतामा रहेका थिए। इजरायलले अमेरिकाबाट ठूलो आक्रमणको अपेक्षा गरे तापनि शुक्रबार राति मात्र अमेरिकाले थप हमला नगर्ने निर्णय गरेको औपचारिक जानकारी प्राप्त गरेको थियो।

ट्रम्पको यो निर्देशन तेहरानमा ओमानको प्रतिनिधिमण्डल पुगेको केही घण्टापछि आएको हो। ओमानको टोली रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यलाई पुनः सञ्चालनमा ल्याउने सम्झौताका लागि इरानी अधिकारीहरूसँग वार्ता गर्न तेहरान पुगेको छ।

क्षेत्रीय स्रोतहरूका अनुसार ओमान र इरानबीचको वार्तामा सकारात्मक प्रगति भएको छ र हप्तान्तसम्ममा दुई देशबीच सहमति हुनसक्ने सम्भावना छ। उक्त प्रस्तावित सहमतिलाई स्वीकार गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय भने राष्ट्रपति ट्रम्पले नै गर्नुपर्नेछ।

शुक्रबार सैन्य हमला रोक्ने आदेश दिएलगत्तै ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाभन्दा इरानसँग सम्झौता गर्नु नै बढी बुद्धिमानी रणनीति हुने बताएका छन्। उनले भने, ‘हामी अहिले इरानीहरूसँग कुराकानी गरिरहेका छौँ। दिनहरू बित्दै जाँदा उनीहरू थप गम्भीर बन्दै गएका छन्। हाम्रा सैन्य बलहरू पूर्ण रूपमा तयारी अवस्थामा छन्, तर हामी हाल कूटनीतिक संवादलाई प्राथमिकता दिइरहेका छौँ।’

ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएसनको कार्यक्रममा बोल्दै ट्रम्पले इरान अहिल्यै सम्झौताका लागि पूर्ण तयार भइसकेको नठाने पनि आफू वार्ता सुन्न र अघि बढाउन इच्छुक रहेको दोहोर्याएका छन्। परिस्थिति कसरी अघि बढ्छ भन्ने कुरा ओमानको मध्यस्थतामा भइरहेको कूटनीतिक प्रगति र ट्रम्पको भावी रणनीतिमा निर्भर रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?