हेटौंडा। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच आ-आफ्नो पक्षमा बहुमत जुटाउने रणनीति र छलफल तीव्र बनेको छ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपाली कांग्रेसस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि प्रदेशमा नयाँ सत्ता समीकरणका लागि दौडधुप सुरु भएको हो।
कुल १०४ सदस्य कायम रहेको बागमती प्रदेशसभामा नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत अर्थात् कम्तीमा ५३ जना सांसदको समर्थन अनिवार्य हुन्छ।
हाल प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा (एमाले) का २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद रहेका छन्।
केन्द्रमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता गठबन्धनको सहमति भए पनि बागमती प्रदेशमा यी दुई दलको सिट संख्या जोड्दा ५१ मात्र पुग्ने भएकाले उनीहरूबाट मात्रै सरकार बन्ने अवस्था छैन।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेले नयाँ सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका अन्य दलहरूसँग निरन्तर छलफल अघि बढाइरहेको छ।
यता, प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी कसरत चलाइरहेको छ।
नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनका अनुसार कांग्रेसले बहुमत पुर्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग चरणबद्ध छलफल र संवाद अघि बढाएको छ। बागमतीमा राप्रपासहितका साना दलहरू जुन पक्षमा उभिन्छन्, उसैको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो देखिएको छ।






