रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्यमा पिपरा–५ सहोडवालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा

२०८३ आश्विन १७, शनिबार ०७:३८

महोत्तरी -महोत्तरीको, पिपरा गाउँपालिका–५, सहोडवालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीस्वरूप वडास्तरीय भेला शुक्रबार सम्पन्न भएको छ।

 

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्यमा तथा वडा कार्यालयको आयोजनामा सम्पन्न भेलामा बालविवाहका कारण, यसबाट पर्ने दीर्घकालीन असर तथा रोकथामका उपायबारे छलफल गरिएको थियो।

कार्यक्रममा सहभागीले बालविवाह न्यूनीकरणका लागि विद्यालय तथा समुदायस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। वक्ताहरूले सामाजिक परम्परा, गरिबी तथा चेतनाको अभाव बालविवाहका प्रमुख कारण रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।

भेलामा जारी गरिएको प्रेस विज्ञप्तिमा २० वर्ष उमेर नपुगी गरिने विवाह मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनी अपराध हुने उल्लेख गरिएको छ। बालविवाहमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कैद तथा जरिवानासहितको सजाय हुने जानकारीसमेत गराइएको थियो।

वडाले बालविवाह न्यूनीकरणका लागि विद्यालयस्तरीय निबन्ध, वक्तृत्वकला, चित्रकला, नाटक तथा गीत–सङ्गीत प्रतियोगिता, घरदैलो अभियान र सामुदायिक सभालगायतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

पिपरा गाउँपालिका–५ लाई २०८३ असोज २२ गते बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी गरिएको वडा अध्यक्ष हरिशंकर प्रसाद यादवले जानकारी दिनुभयो।

 

कार्यक्रममा वडा अध्यक्ष यादव, बालबालिका शाखा प्रमुख रचना झा, सूचना तथा सञ्चार शाखाका राजीव झा, वडा सचिव विनोद ठाकुर, वडा सदस्यहरू, रतौली युवा क्लबका फिल्ड सुपरभाइजर शम्भु कुमार साह र फिल्ड ऑफिसर अखिलेश कुमार झा, स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, महिला समूह, पत्रकार, राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?