ADVERTISEMENT

रतौली युवा क्लबको ३५औँ वार्षिक साधारण सभा सम्पन्न, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा हासिल उपलब्धि सार्वजनिक

२०८३ आश्विन ३०, शुक्रबार १४:४५

महोत्तरी, जलेश्वर । रतौली युवा क्लब, महोत्तरीको ३५औँ वार्षिक साधारण सभा जलेश्वरमा सम्पन्न भएको छ। सभामा क्लबले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, पोषण तथा सामाजिक क्षेत्रमा हासिल गरेका उपलब्धिबारे जानकारी गराइएको छ।

oplus_1026

 

कार्यक्रममा क्लबका अध्यक्ष साकिर खानको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा संघीय सांसद उज्ज्वल कुमार मंडल सहभागी थिए। कार्यक्रममा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीसहित विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवा तथा रतौली युवा क्लबका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण राजेश पाण्डेले गरेका थिए।

सभामा प्रस्तुत प्रगति प्रतिवेदनअनुसार क्लबले जलेश्वर नगरपालिका र पिपरा गाउँपालिका क्षेत्रमा स्वास्थ्य सेवा, शिक्षा, महिला तथा बालबालिकाको पोषण, सुरक्षित मातृत्व र सामाजिक समावेशीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

oplus_1026

 

स्वास्थ्यतर्फ एचपी–एमएसएस कार्यक्रमअन्तर्गत १३ वटा स्वास्थ्य संस्थाको गुणस्तर मूल्याङ्कन गरिएको छ। त्यस्तै, १०२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बीपीपी तथा तीन ढिलाइ मोडेलसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। भवन ब्रेन सेसनमार्फत ६७४ अभिभावक तथा ७५२ बालबालिका लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ।

oplus_1026

शिक्षा क्षेत्रमा पनि क्लबले महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान सञ्चालन गर्नुका साथै शिक्षाको पहुँच विस्तार र बालबालिकाको शैक्षिक सहभागिता बढाउने गतिविधि सञ्चालन गरिएको छ। प्रतिवेदनअनुसार विद्यालयमा भर्ना गराउने कार्यक्रममार्फत ५० वर्ष उमेर समूहका नभई ५–९ वर्ष उमेर समूहका २५१ विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराइएको उल्लेख छ। साथै, शिक्षक सहयोग समूहको माध्यमबाट ७५२ बालबालिका लाभान्वित भएका छन्।

 

यसैगरी, महिला तथा किशोरीको स्वास्थ्य, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, सुरक्षित मातृत्व, पोषण सुधार र अपाङ्गता भएका व्यक्तिसहितका समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ।

 

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित आय–व्यय विवरणसमेत प्रस्तुत गरिएको थियो। साथै, क्लबका गतिविधिमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा कदरपत्र वितरण गर्ने कार्यक्रम पनि राखिएको थियो।

 

सभामा क्लबले स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण तथा बालबालिकाको हितमा सञ्चालन गर्दै आएका कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा समुदायको समग्र विकासका लागि थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?