सप्तरी ,चन्दन रजक :मानव बस्ती नजिक देखिने जंगली हात्ती शान्त स्वभावमा आफ्नो प्राकृतिक बासस्थान कोशी टप्पु वन्यजन्तु आरक्षतर्फ फर्कँदै गरेको अवस्थामा समेत स्थानीय बासिन्दाले होहल्ला गर्ने, ढुंगामुढा प्रहार गर्ने र लखेट्ने गर्दा हात्ती अनावश्यक रूपमा आक्रामक बन्न थालेका छन् ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले स्थानीयको यस्तो अस्वाभाविक व्यवहारका कारण हात्तीहरू अशान्त भई मानवीय तथा भौतिक क्षतिको जोखिम बढेको बताएका छन् ।
उनका अनुसार सामान्यतया हात्ती आफ्नै सुरमा आरक्षतर्फ फर्किरहेका हुन्छन्, तर बाटो छेक्ने, पटाका पड्काउने, आगोको राँको देखाउने र भिड जम्मा गरेर जिस्क्याउने गतिविधिले तिनलाई उत्तेजित बनाउने गरेको छ ।
आफ्नो बासस्थान फर्कँदै गरेको हात्तीलाई बाटो छाडिदिनुको सट्टा उल्टै घेरा हाल्ने र तर्साउने काम भइरहेको छ,” प्रमुख ठाकुरले भने, “यस्ता गतिविधिले हात्तीलाई हिंसात्मक बनाउँछ, जसको प्रत्यक्ष असर स्थानीय बासिन्दाकै जीउधनमा पर्न सक्छ ।
विज्ञहरूका अनुसार जंगली हात्ती संवेदनशील प्राणी भएकाले भिडभाड र चर्को आवाजले ती तर्सिन्छन् र आत्मरक्षाका लागि आक्रमणमा उत्रिन सक्छन् । त्यसैले, गाउँबस्ती क्षेत्रमा हात्ती देखापरेमा नजिक नजान, सुरक्षित दूरी कायम राख्न र तिनलाई आरक्षतर्फ जाने प्राकृतिक मार्गमा अवरोध नगर्न डिभिजन वन कार्यालयले सबैमा अनुरोध गरेको छ ।
हात्तीको गतिविधि देखिएमा तत्काल डिभिजन वन कार्यालय, कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासन वा नजिकको सुरक्षा निकायमा खबर गरी मानवीय क्षति न्यूनीकरणमा सहयोग पुर्याउन समेत कार्यालयले अपिल गरेको छ ।







