मिथिलाञ्चलमा चैते छठ पर्व आज देखि सुरु

२०७९ चैत्र ११, शनिबार ११:१५

जनकपुरधाम,(कुमार पंकज)
चैते छठ छठअन्तर्गत आज नहाय–खाय विधि गरिँदैछ। चार दिनसम्म मनाइने चैते छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ। पहिलो दिनलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ। व्रत बस्ने महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर परित्याग गरी आजदेखि व्रत बस्ने परम्परा छ।

तराई मधेशको जिल्लाहरुमा चैते छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। चैत शुक्ल पक्ष लाग्नेबित्तिकै व्रतालुले सात्विक भोजनका सुरु गरी दाल, तरकारी र सागपात आदि खाँदैनन्। यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (कालो रंगको धान, पवित्र अन्न) को व्यवस्था केही दिन पहिले नै गरिएको हुन्छ।

छठ पर्वमा ६० प्रकारको वस्तु चाहिने मान्यता रहेको छ। तिनमा केही कमी भए गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने विश्वास रहेको छ। गम्हरीलाई कुटेर त्यसको चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपपोग गरिन्छ। आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रुपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रुपमा लिइन्छ। चोखोपना, संयम र पूर्ण ब्रह्मचर्य साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको छ।

छठपर्वको पूजा एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र जुठो भएमा अनिष्ट हुने मान्यता छ। छठ पर्वमा प्रकतिको पूजा हुन्छ। सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ।

कात्तिक महिनामा हुने र चैत महिनामा हुने छठ पर्वमा धेरै फरक छैन। कात्तिक महिनामा तराई मधेशको हरेक समुदायले यो पर्व गर्दछ भने चैत महिनामा सहभागथी केही कम हुन्छन्। कात्तिकभन्दा चैत महिनाको छठ पर्वलाई कठोर मानिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?