२०८० भदौ २२ काठमाडौ
आईसीसी टी-२० महिला विश्वकप एसिया छनोटमा थाइल्यान्डसँग हारेसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना यसपटक पनि अधुरै भएको छ।
शुक्रबार भएको पहिलो सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले हारेको हो।
सन् २०१३ देखि भइरहेको ग्लोबल छनोटमा नेपाल अहिलेसम्म पुग्न सकेको छैन।
आजको खेलमा बलियो टोली थाइल्यान्डलाई हराएको भए नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुग्ने थियो।
थाइल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको नेपाल ३ बलअगावै ५९ रनमा अलआउट भयो।
तीन खेलाडीले दोहोरो अंकको स्कोर छोए। तीन खेलाडी शून्य रनमा आउट भए।
ओपनर काजल श्रेष्ठ शून्य र सीता रानामगर ४ रनमा क्याच आउट भए। इन्दु बर्मा ३ रनमा क्याच आउट भइन्। २ बलको सामना गरेकी कप्तान रुविना क्षेत्री शून्य रनमै एलबीडब्ल्यू धरापमा पर्दै पवेलियन फर्किइन्। ४ बल खेलेकी बिन्दु रावल शून्य रनमै एलबीडब्ल्यू धरापमा परिन्।
२८ बल खेलेकी कविता जोशीले एक चौका मद्दतमा १० रन बनाइन्। २७ बलको सामना गरेकी अप्तसी बेगमले १ चौका हान्दै १० रन बनाउँदा क्याच आउट भइन्।
पूजा महतो ४ रनमा क्याच आउट भइन्। अस्मिना कर्माचार्य ३ र खुसी डंगोल १ रनमा आउट भए।
त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको थियो।
नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिइन्। कविता जोसीले ३ ओभरमा १२ र इन्दु बर्माले २ ओभरमा १५ रन खर्चिए।
रुविना क्षत्रीले ४ ओभरमा २१ रन दिदा पूजा महतोले ३ ओभरमा २० रन दिएर १ विकेट आफ्नो नाममा गरिन्। सीता राना मगर र खुसी डंगोलले समान २ ओभरमा १० रन दिए।
दोस्रो विकेटका लागि ओपनर नन्नपत कोन्चरोएनकाई र नटाङकन चनतमले ६८ रनको साझेदारी गरेका थिए।
४५ बलमा २ चौका प्रहार गरेकी नटाङकन ३१ रन बनाउदा पूजा महतोको बलमा काजल श्रेष्ठको हातबाट क्याच आउट भइन्।
नेपालले पहिलो विकेटका रुपमा ओपनर सुवानन खियाओटोलाई २ रनमा कविता कुवँरको बलमा कप्तान रुविना क्षत्रीको हातबाट क्याच आउट गराएको थियो।
यसरी आईसीसी टी-२० महिला विश्वकप एसिया छनोटमा थाइल्यान्डसँग हारेसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना यसपटक पनि अधुरै भएको छ।






