जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन शुरु कूल १७ देशका आयुर्वेद क्षेत्रका चिकित्सक, प्राध्यापक तथा वैज्ञानिकहरूको सहभागिता

२०८० कार्तिक २२, बुधबार १७:३५

जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन शुरु भएको छ । कूल १७ देशका आयुर्वेद क्षेत्रका चिकित्सक, प्राध्यापक तथा वैज्ञानिकहरूको सहभागिता रहेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तीन दिनसम्म चल्नेछ ।

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा शुरु भएको छ ।

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन ओशो तपोवन नेपालका सञ्चालक बौद्धिसत्व स्वामी आनन्द अरुणले गर्नु भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक जडीबुटीको खानी भएको देश भएको बताउँदै स्वदेशमा नै जडी बुटीको प्रशोधन सहित आयुर्वेद औषधिको उत्पादन गर्नमा अन्तर्राष्ट्रिय सम्मेलनले योगदान दिने बताउनु भयो ।

उहाँले मुलुकमा आयुर्वेद चिकित्सकको विकास गर्दै यस मार्फत रोजगारी सहित आर्थिक समृद्धि हाँसिल गर्ने सम्भावना व्यापक मात्रामा रहेको बताउनु भयो । उहाँले स्वदेशमा आयुर्वेद औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय सम्मेलनबाट सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै ओशो तपोवन नेपालका सञ्चालक स्वामी आनन्द अरुणले विश्वका आयुर्वेदका चिकित्सक तथा वैज्ञानिकहरूको सहभागितामा शुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनले नेपालमा आयुर्वेदको विकासमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नु भयो ।

पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले आयुर्वेदको सम्भावना नेपामा व्यापक भएकाले यस्ता प्रकारको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनले आयुर्वेदको विकास तथा विस्तारमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नु भयो ।

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको विषयमा जानकारी दिँदै सम्मेलन आयोजक संस्थाका संयोजक डा. राकेश कुमार सिंहले सम्मेलनमा आयुर्वेदका पुराना ८ उपचार विधि तथा नयाँ १४ वटा उपचार पद्धतिका विषयमा तीन दिनसम्म विज्ञहरूका बीचमा संवाद, बहस, शोधपत्रको प्रस्तुति हुने बताउनु भयो ।

ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानका अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, दक्षिण कोरिया, अमेरिका, फ्रान्स, रसिया, माल्दीभ्स, मोरिसस, अष्ट्रेलिया सहितका १७ देशको सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा आयुर्वेद क्षेत्रका चिकित्सक, विज्ञ, प्राध्यापक वैज्ञानिक गरेर करिब ६ सयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, भारतका प्राध्यापक पि के प्रजापति, प्राध्यापक हरिशंकर शर्मा सहितको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?