जनकपुरधाम, २ मङ्सिर । तराई बासीले ज्यादै नैं महत्वका साथ मनाउँने महान् छठ पर्व शनिबार दोस्रो दिन खरना गरिँदै छ । पर्वको पहिलो दिन शुक्रवार नहान–खान गरि शुद्ध भई ब्रत बस्न सुरु गरेका ब्रतालुहरुले शनिबार आज दिन भर उपवास बसेर बेलुकी दूध र सक्खरमा बनाईएको खिर, रोटी खाएर खरना गर्ने छन् । आइतबार तेश्रो दिन साँझ पख अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिई सोमबार बिहान उदाउँदो सूर्य भगवानलाई अर्घ दिए पछि यो पर्व सम्पन्न हुने छ । चर्मरोगको नाश तथा पारिवारिक सु:ख समृद्धिका लागि छठी माताको आराधना गर्दै यो पर्व मनाइँने गरिन्छ ।
नेपालको तराई क्षेत्र तथा उत्तरी भारतमा मनाइँने छठ पर्व धुमधामका साथ मनाईन्छ । निकै कठिन मानिने यो पर्वका चार दिन मध्ये दुई दिन छठ ब्रतालुहरुले अन्न–पानी नखाई भोकै बसी ब्रत गर्दछन् । तराई क्षेत्रको हरेक गाउँमा नदि , पोखरी , तलाउ लगायतको जलाशयमा छठ पर्वका लागी छठ घाट सजाउँने कार्य गरिएको छ । छठलाई हर्षोल्लासका साथ मनाउँन सर्लाही , पर्सा , रौतहट , महोत्तरी , बरा, धनुषा र जनकपुरको बिभिन्न स्थान लगायत तराई क्षेत्रको विभिन्न स्थानका पोखरी तथा नदिमा छठ घाट बनाउँने र सजाउँने कार्य भएका हुन् ।
छठ पर्वको लागि बढी खर्चमा रंगी–चंगी झकिझकाउ पारेर दुल्ही जस्तै सिंगारेर छठ पुजा गरिन्छ । तर , नदि, तलाउ , पोखरीहरु सुख्खा परेकोले यस पटकको छठ पर्वमा भने अन्य वर्षको तुलनामा व्रतालुहरुलाई धेरै कष्ट भएको देखिन्छ ।
यता छठपर्वको अवसरमा यस क्षेत्रको विभिन्न स्थानको बजारहरुमा छठ पूजासँग सम्बन्धित विभिन्न सामग्रीहरु खरिदारी गर्ने छठ ब्रतालुहरुको अहिले पनि घुइँचो लागेको छ । भने छठ पूजाको प्रशादको रुपमा बनाइँने ठेकुवा , खजुरी , रसियाव रोटी लगायतको पूजा सामग्री बनाउँनका लागि चक्की मिलमा गहुँ पिधाउँने कामहरु ब्रतालुहरुले गरिरहेका छन् ।






