जनकपुरधाम, १ माघ । मिथिलाञ्चलमा आज `तिलासकराइत´ अर्थात माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघेसंक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ । तर मिथिलाञ्चल्मा नाम र मनाउने तरिका फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा पनि मनाउँने गरिन्छ ।
आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप र ध्यान गरिन्छ । मिथिलाञ्चलवासीले आजको दिनमा तील, च्युरा, मुरही लगायतको परिकारलाई सक्खर मिलाएर लाइ (लड्डु) बनाउने गर्दछन् । नुहाएर तिलचामल चढाएर खानुको साथै लाइ घ्यु, खिचडी खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । साथै आफ्ना छोरीको घरमा ती परिकारहरु कोसेलीको रुपमा पठाउने चलन समेत मिथिलाञ्चलमा रहेको छ ।
माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।






