जनकपुरधाम, माघ १९ गते । कपडाबाट सल्केको आगोले जलेर दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–८ कटकुइयाँकी ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
हिजो बेलुका दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा चौधरीले लगाएको कपडाबाट शरीरमा आगो सल्किएको थियो । घटना भएका बेला घरमा कोही नभएको र पछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए। घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
खाना पकाउँदा, घुर अर्थात् आगो ताप्दा जलनको जोखिम उच्च हुन्छ । त्यसमा पनि महिलाहरु यस्तो जलनको जोखिममा धेरै पर्ने गरेका जलनसम्बन्धी उपचार गर्दै आएका प्लाष्टिक सर्जन डा.जसवन शाक्य बताउनुहुन्छ ।
आगोले छिटो समात्ने खालका कपडा नलगाउन, चुलो भुइँभन्दा अलि उच्च भागमा राख्न, पकाउने तथा आगोको वरिपरि बस्ने बेला सावधानी अपनाउन डा।शाक्यको आग्रह छ ।