सिरहा, माघ २८ गते । सिरहास्थित जिल्लाको राजविराज कारागारको शौचालयभित्र बन्दिले आत्महत्या गरेका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय देवेन्द्र मण्डल कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका छन ।
शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा पठाएको मण्डल आज आइतबार बिहान आत्महत्या गरेका हुन् । मण्डललाई गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।
जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो ।
पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक सदानन्द दासले बताए । परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने उनले जानकारी दिए ।






