१४ वर्षकी छोरी बाबुबाट पटक-पटक बलात्कृत,बुबा फरार

२०८० फाल्गुन २६, शनिबार ०१:१७

चितवन,फागुन २६ गते । चितवनमा एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बाबुको बलात्कारको कारण बसेको ३ महिनाको गर्भपतन गराएपछि घटना बाहिर आएको हो ।

उनीहरू कालिका नगरपालिकामा डेरा गरी बस्थे । नाबालिगको गर्भपतन गराएको मावलीले थाहा पाएका थिए । गत पुस १० गते नै चितवन प्रहरीमा बलात्कारको अभियोगमा जाहेरी दर्ता भएपनि बाबु अहिलेसम्म पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले बाबु फरार रहेको जानकारी दिए ।

यसै वर्षदेखि विद्यालय आउन थालेकी बालिका सधैँ मलिन अनुहारमा आउने गरेको शिक्षक बताउँछन् । ७ कक्षामा पढ्दै गरेकी उनको शरीरमा पनि परिवर्तन देखिन थालेको थियो । एक शिक्षकका अनुसार गत पुसमा एक हप्ता विद्यालय नआएपछि सोधपुछ गर्दा उनी पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेको परिवारका एक सदस्यले जानकारी दिएका थिए ।

तर, नाबालिक छोरीको पत्थरीको शल्यक्रिया नभई बलात्कारपछि गर्भपतन गराएकोबारे बालिकाकी मामाघरकी हजुरआमाले विद्यालयमा जानकारी गराएपछि विद्यालय परिवारले यो घटना थाहा पाएको थियो ।

कालिका नगरपालिकाकी उपमेयर विमला तामाङले घटना प्रहरीमा पहिल्यै दर्ता भएपनि आफ्नो जानकारीमा आजमात्रै आएको बताइन् । उनले बालिकाको स्वास्थ्य अवस्थाबारे बुझिरहेको र प्रहरीको समन्वयमा बालिकाको उचित संरक्षणको व्यवस्था गर्ने जानकारी दिइन् ।

प्रहरीलाई जाहेरीमा जानकारी गराए अनुसार उनको बाबुले महिनावारी नभएपछि बालिकालाई भरतपुरमा लगेर गर्भपतन गराएका थिए । कुन अस्पतालमा लगेका हुन् भन्ने खुलेको छैन ।(नेपाल प्रेसबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?