बुवाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा पक्राउ

२०८१ बैशाख २१, शुक्रबार १०:११

वैशाख २१,जनकपुरधाम। आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा सिराहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।

बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जितेन्द्रले घरायसी विवादमा मंगलबार राति कुटपिट गर्दा चन्दन गम्भीर घाइते भएका थिए।

घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?