बीरगन्ज,२६ वैशाख । पर्सा प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।९० लाख ३७ हजार ९२६ रुपैयाँ मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साद्धारा चलाएको जाँच अभियानअन्तर्गत जिल्लाका फरक–फरक स्थानहरुबाट उक्त्त मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले बीरगन्ज–८ घण्टाघरबाट ८७ लाख ५० हजार ४१५ रुपैँयाका खुद्रा सामान तथा औषधीसहित ना.६ ख ३८६१ नम्बरको ट्रक पक्राउ गरेको हो । ट्रकसहित सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता थापाले बताए ।
यसैगरी वडा प्रहरी कार्यालय विर्ताको टोलीले बीरगन्ज–१६ रजतजयन्ती चोकबाट खाद्यन्न तथा कपडाहरु नियन्त्रणमा लिएको प्रहरीले जनायो । २ लाख ८७ हजार ५ सय मूल्यका सामानहरु आवश्यक कारवाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताएको छ ।






