
रौतहट, जेठ २६ । रौतहटको सदरमुकाम गौरमा रहेको एक हार्डवेयर पसलमा आगलागी भएको छ । गौर नगरपालिका – ५ हनुमान चोक स्थित रहेको महतो हार्डवेयरमा आगलागी हुँदा ५० लाख बढीको सामाग्री जलेर नस्ट भएको हो ।
शुक्रबार राती पौने १२ बजे आगलागी हुँदा हार्डवेयर गोदाममा रहेको रङ्ग, पेन्ट बनाउने मेसिन २ थान, ल्यापटेप २ थान, मोटर १६ थान, सिपिभिसी फिटिङ्ग, पिभिसी फिटिङ्ग लगायत पल्मबिङ्गका सामाग्री र सयौं थान रंग पेन्टका बाल्टिनसहित ५० लाख मुल्य भन्दा बढीको सामाग्री जलेर नष्ट भएको हो ।
यस्तै आगलागीबाट हार्डवेयरको अर्को गोदाम सहित हार्डवेयर पसल र संगै रहेको रामबाबू मोटरसाइकल वर्क सपमा आंशिक क्षती पुगेको हार्डवेयरको प्रोपराईटर बिरेन्द्र कुशवाहाले बताएका छन् ।
कुशवाहाले भने “हामी सुति सकेका थियौ, स्थानीयले होहल्ला गर्दा आगो लागेको थाह पाए । समयमै आएको गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भयौ नत्र भने भयङकर क्षति हुने रहेछ । पसलमा एक्कासि आगो लागी जल्न थालेपछि आगलागीले केही समय भिषणरुप लिएको थियो । विद्युत सर्ट भएर आगो लागेको जस्तो हाम्रो अनुमान छ, राती नै प्रहरी टोली आएको थियो । आज स्थलगत मुचुल्का उठाउने कार्यको लागि निवेदन दिएका छौ ।”
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो विषयमा अनुसन्धान र बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता एलिजा गिरीले बताइन् ।