काठमाडौं,२७ जेठ । प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल गर्ने दुईजना महिलालाई नक्कली नोट कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलंकीमा चिया पसल चलाउने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
डंगोलले नक्कली नोटको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनको पसलमा छापा हानेको थियो ।
त्यही छापाका क्रममा प्रहरीले एक हजार दरका ५ सय १५ थान नोट बरामद गरेको हो । प्रहरीले दुबैलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइसकेको छ ।