२२ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पुनः मन्त्रिपरिषद् विस्तार गर्दै ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री सिंहले मंगलबार नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एक/एक जना राज्यमन्त्री थपेका हुन्।
एमालेबाट मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ ।
कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । १२ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मन्त्रीको संख्या २० पुगेको छ ।
यो अहिलेसम्मकै जम्बो हो । यसअघि जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४/४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।






