जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसमा विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८१ भाद्र २०, बिहीबार १०:३७

जनकपुरधाम,२०भदौ । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जनकपुरधाममा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ ।

यस वर्ष ‘तिनै तहका सरकारको प्रतिबद्धता: मानव बेचबिखन विरुद्ध सबैको ऎक्यवद्द्ता’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । नाराले बेचबिखन विरुद्ध तिनै तहका सरकारको चासो हुनुपर्ने र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको लागी सबैले मिलेर काम गर्नु पर्ने,सन्देश दिएको छ ।

जनकपुरधामको सरकारी तथा गौर सरकारी संघ-संस्थाहरुले आज संयुक्त रुपमा दिवस मनाइदै छ । आज बिहानै जनकपुरधामको रेल्वे स्टेसनदेखी र्‍याली निकालेर जनकपुरधामको भानु चौक, शिव चौक हुँदै जनक चौकमा आएर कोण सभागरी समापन गरिएको थियो । र्‍यालीमा विभिन्न नारा पोस्टरहरु सहित समाजसेवी,राजनीतिकर्मी,मानव अधिकारकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो । त्यस्तै आज साझमा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम समेत रहेको छ ।

सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?