तेलको भाउ अझै घट्न सक्ने सम्भावना!

२०८१ भाद्र २०, बिहीबार १८:४०

भदौ २० विहीवार ,  काठमान्डौ

 

जुनको दोस्रो सातादेखि ८० डलर प्रति ब्यारेल हाराहारी रहेको कच्चा तेलको भाउ अगस्टमा भने ७५ डलर नजिक ढल्केको छ। अगस्ट २६ मा यो एकैपटक बढेर ८० डलर नजिक पुगेको थियो। मंगलबार भने ७३ डलरभन्दा तल झरेको छ। सन् २०२३ को अन्त्यपछि यो नै सबभन्दा कम हो।

केही अप्रत्याशित घटना नभए तेलको भाउ यो वर्षभरि नै अझ घट्ने प्रक्षेपण छ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार तेलको भाउ तोक्छ। खुद पेट्रोलियम आयात गर्ने भारतले आफै भने अन्तर्राष्ट्रिय बजारको भाउ अनुसार तेलको भाउ समायोजन गर्छ। जसको असर केही समयपछि नेपालमा पनि पर्छ।

कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ फेरि नबढे शनिबार मात्रै पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको भाउ घटाएको निगमले फेरि छिट्टै भाउ घटाउनेछ।

कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ माग र आपूर्तिका आधारमा बजारले निर्धारण गर्छ। तर पनि साउदी अरेबिया सहितको तेल निर्यातकको संगठन ओपेकले उत्पादनमा थपघट गरेर भाउ प्रभावित गर्न खोज्छ। ओपेक र रूससहित केही अन्य राष्ट्र (ओपेक प्लस) ले छलफल गरेर आफूले चाहेको हाराहारीमा भाउ ल्याएर स्थिर राख्न उत्पादनको कोटा निर्धारण गर्छन्। र, त्यसै अनुसार उत्पादन गर्छन्।

अगस्ट २६ मा लिबियामा अन्तरिक द्वन्द्वका कारण उत्पादन घटेपछि एकैपटक तेलको भाउ बढेर ८० डलर छेउ पुगेको थियो। त्यसपछि फेरि बिस्तारै ओरालो लागेको भाउ लिबियाका द्वन्द्वरत समूहहरू सहमतिमा पुग्ने भएपछि मंगलबार धेरै नै घटेर ७३ डलरभन्दा तल झरेको हो।

पछिल्लो समय भने तेलका मुख्य खपतकर्ता चीन र अमेरिकामा माग घटेकाले भाउ अझ घटेको हो। इरान-इसराइलको युद्ध हालका लागि टरेकाले पनि भाउ बढ्ने सम्भावना कम भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?