दाङ,१८ असाेज । दाङमा १९ वर्षीय एक युवतीलाई सामुहिक बलात्कार गरेकाे अभियाेगमा चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
बिहीबार गढवा गाउँपालिका- ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा बोलाएर युवतीलाई चार जनाले पालैपालो करणी गरेकाे अभियाेगमा नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए।
१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएकाे प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।
किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चार जनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए।
सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारै जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका- ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






