जनकपुरधाम,३ कार्तिक । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित तीन दिवसीय प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी आज जनकपुरधाममा सुरु भएको छ ।
गोष्ठीको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गरेका छन् । मन्त्री सिंहले “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नाराका साथ स्वास्थ्यकर्मीहरूले गरेका सेवाको प्रशंसा गर्दै जनतालाई स्वस्थ राख्नका लागि थप समर्पणका साथ काम गर्न आग्रह गरे ।
उनले तीनवटै तहका सरकारहरूबीच सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन साहले दिगो विकासका लक्ष्य (SDG) प्राप्त गर्न स्थानीय सरकारले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेश सरकार सहकार्य गर्न तयार रहे पनि अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको पनि बताए ।महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारको आवश्यकता रहेको भन्दै सीमित स्रोतसाधनमा स्वास्थ्यकर्मीहरूले पुर्याएको सेवाको प्रशंसा गरे ।
यसै क्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद कुमार यादवले स्वास्थ्य शिक्षामा नयाँ-नयाँ कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाले मधेश प्रदेश खोपको पहुँचका हिसाबले अगाडि रहेको बताए पनि सुरक्षित मातृत्व, शिशु स्वास्थ्य र पोषण क्षेत्रमा अझै सुधारको आवश्यकता रहेको बताए । गोष्ठीमा प्रदेशको स्वास्थ्य क्षेत्रका कमी कमजोरी र सुधारका उपायबारे विस्तृत छलफल हुनेछ।
तीन दिनसम्म चल्ने यस गोष्ठीमा प्रदेशका स्वास्थ्यकर्मी, विज्ञ तथा नीति निर्माता सहभागी हुनेछन् ।






