जनकपुरधाम,१७ कार्तिक । मिथिलाञ्चल क्षेत्रमा गोवर्धन पूजा धुमधामका साथ मनाइँदै छ। तिहारको चौथो दिन मनाइने यो पर्व यसपालि तेस्रो दिन मनाउन थालेको छ । यस पर्वमा विशेषगरी गाई, गोरु, र गोठपालकको पूजा गरिन्छ। मधेसको विभिन्न जिल्लाहरूमा यस दिनलाई खासगरी गाई र गोरुलाई सजाएर गोबरको गोवर्धन पर्वत बनाइन्छ।
गोरु पूजामा फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि प्रयोग गरिन्छ। बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिँदै आइएको हो। यही दिन हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाएर पूजा गर्ने प्रचलन छ।
पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो। धार्मिक मान्यताअनुसार गोकुलमा कृष्ण बस्थे। त्यहाँ गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्थे। इन्द्रले आफ्ना भक्तहरूलाई केही दिँदैनथे। कृष्णले एकदिन
गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो भनेपछि गोपालहरूले गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसेको मानिन्छ। आफ्नो पूजा छाडेर गोवर्धन पर्वतको पूजा गरेको भन्दै रिसाएर इन्द्रले गोकुलमा असिना–पानीको वृष्टि गराउँछन्। त्यही समय कृष्ण भगवानले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन्। त्यही बेलादेखि गोवर्धन पर्वतको पूजा गर्न सुरु गरिएको जनविश्वास छ।