तराई मधेशमा आज भरदुतिया पर्व हर्षोल्लासपूर्वक मनाइँदै

२०८१ कार्तिक १८, आईतवार ०८:०८

जनकपुरधाम,१८ कार्तिक । तराई मधेशका विभिन्न जिल्लामा आज भरदुतिया पर्व धुमधामका साथ मनाइँदै छ। यो पर्व विशेष गरी दाजुभाइ र दिदीबहिनीको अटुट सम्बन्धको प्रतीकका रूपमा मनाइन्छ। यस अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका तथा जमरा लगाइदिने परम्परा रहेको छ।

कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन मनाइने यो पर्वमा भाइ बहिनीको प्रेम, स्नेह झल्किन्छ । भरदुतीयासहित भ्रातृद्वितीया, भाइदुजको नामले पनि मनाउने गरिन्छ । धर्म, संस्कृति र चाडबाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वहरूमध्ये यस पर्वमा दाजुभाइ–दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गरेको छ । हिन्दूको महान् चाड तिहारको दुई दिनपछि अर्थात् कात्तिक शुक्ल पक्ष द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर (भाइ) द्वितीया भनिएको हो ।

यस पर्वमा बहिनीहरूले दाजुभाइलाई विशेष परिकार बनाएर खुवाउने चलन छ। साथै, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई उपहार प्रदान गर्दै शुभकामना व्यक्त गर्छन्। तराई मधेश क्षेत्रमा यो पर्वलाई पौराणिक महत्वका साथ हर्षोल्लास र माया साटासाट गर्ने माध्यमका रूपमा मनाइन्छ।

धार्मिक मान्यताअनुसार, भगवान विष्णु र यमराजसँग सम्बन्धित यस पर्वले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिन्छ। देशभरि नै दिदीबहिनी र दाजुभाइबीच प्रेम र विश्वासको प्रतीकका रूपमा भरदुतिया पर्वलाई विशेष उत्साहका साथ मनाइँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?