रुपन्देही,२६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलवार रुपन्देहीमा बयानका लागि लगिने भएको छ । रुपन्देहीको सुप्रिम सहकारीमा भएको रकम अपचलनको अनुसन्धान गर्न लामिछानेलाई रुपन्देही लगिने भएको हो । यसका लागि रुपन्देही अदालतबाट प्रहरीले अनुमति लिइसकेको छ ।
कात्तिक २ गतेदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ। लामिछानेलाई सोमबार साँझ रुपन्देही ल्याउने तयारी गरिए पनि साँझ पोखराबाट आउने विमान नभएकाले मङ्गलवार ल्याइने भएको रुपन्देही प्रहरीले जनाएको छ ।
रुपन्देही जिल्ला अदालतबाट प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन्। बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाई सकिएको छ। यसैबीच लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।






