मुख्यमन्त्रीको प्रतिबद्धता: नारायणी क्रिकेट मैदानको संरक्षणमा मधेश प्रदेश सरकार

२०८१ कार्तिक २८, बुधबार १६:१५

वीरगञ्ज,२८ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै मैदानको संरक्षण र प्रबद्र्धनमा प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको बताएका छन्। नारायणी क्रिकेट मैदान, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू उत्पादन गरेको छ, यसको विकास र संरक्षण राज्यको प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ।

मुख्यमन्त्री सिंहले भने, “नारायणी मैदान एउटा ऐतिहासिक खेल स्थल हो, यसको संरक्षण र विकासको लागि हाम्रो प्रदेश सरकार गम्भीर छ। हामी संघीय सरकार र खेलकुद मन्त्रीसँग नियमित छलफलमा छौं।” उनले संघीय सरकारबाट यस वर्ष बजेट नबिनियोजन भएकोमा असन्तुष्टि व्यक्त गर्दै, खेलकुद क्षेत्रको लागि दातृ निकायहरूसँग समेत सहकार्य गरिरहेको बताए।

नारायणी क्रिकेट मैदानको ऐतिहासिक पृष्ठभूमि र योगदान

नारायणी क्रिकेट मैदान वीरगञ्जको प्रमुख खेल मैदान मात्र नभई नेपालकै क्रिकेट इतिहासमा महत्वपूर्ण योगदान राख्ने स्थल हो। यस मैदानमा प्रशिक्षण लिएर धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरेका छन्। मैदानको अवस्थालाई सुधार गर्न र यहाँ अझै व्यवस्थित संरचना निर्माण गर्न आवश्यक रहेकोमा स्थानीय खेलकुद निकायहरूको समेत जोड रहेको छ।

प्रदेश सरकारका तर्फबाट पनि मैदानको विकासका लागि केही बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री सिंहले मैदानको मुआब्जा सम्बन्धित विषयलाई आफ्नो कार्यकालमै समाधान गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए। उनले भने, “खेलकुद मन्त्रीसँग भेटेर मुआब्जाको फाइल अर्थ मन्त्रालयमा पठाउन पहल गर्छु।”

आगामी योजनाहरू र स्थानीय खेलकुद निकायको भूमिका

मुख्यमन्त्री सिंहको भ्रमणका क्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले मैदानको अवस्थाबारे जानकारी गराए। अध्यक्ष सिंहले पिच निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै मुआब्जा सम्बन्धी समस्यालाई समाधान गर्न मुख्यमन्त्रीसँग आग्रह गरे। साथै, विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र बजेट प्राप्त भएपछि अन्य कार्यहरू सुरु गर्ने योजना रहेको पनि बताए।

कार्यक्रममा नेशनल सेलेक्टर मुर्तुजा हवारी, क्रिकेट संघ पर्साका सचिव घनश्याम बाबु गुप्ता, क्यानका पूर्व केन्द्रिय सदस्य दाउद अन्सारी, र अन्य स्थानिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?