११ कार्तिक । अष्ट्रेलियामा जारी आठौ संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह ‘एक’को खेलमा पाकिस्तानमाथि जिम्बावेले रोमान्चक जित निकालेको छ । बिहीबार भएको खेलमा जिम्बावेले पाकिस्तानमाथि १ रनको रोमान्चक जित निकालेको हो । पाकिस्तानको यो लगातार दोस्रो हार हो ।
अष्ट्रेलियाको पर्थमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । जिम्बावेका लागि सेन विलियम्सले ३१ र क्रेग इर्भिन्सले १९ रन बनाए । त्यस्तै ब्राड इभान्स १९ रन जोड्दा वेस्ले माधिभिरेले १७ रन बनाए । पाकिस्तानका लागि मोहमद वासिमले ४ विकेट लिए भने शादब खानको भागमा ३ विकेट रह्यो ।
१३१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान मसुदले ४४ रन बनाए भने मोहमद नवाजले २२ रन जोडे । यस्तै शादब खानले १७ रन जोडे भने मोहमद वासिम १२ रनमा अविजित रहँदा मोहमद रिजवानले १४ र बनाए । जिम्बावेका लागि सिकन्दर राजाले ३ विकेट लिए भने ब्राड इभान्सको भागमा २ विकेट रह्यो ।
जितसँगै जिम्बावेले २ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ भने अंकविहिन पाकिस्तान पाँचौं स्थानमा रहेको छ । त्यसैगरी शुक्रबार भएको अन्य खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १०४ रनले पराजित गर्दा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हराएको छ ।






