जनकपुरधाम,१४ मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा माइती नेपाल धनुषा, जनकपुरधामले लैङ्गिक हिंसा रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा क्यानाडियन फन्ड फर लोकल इनिसिएटिभ्स (CFLI) र एफसिआईएल (FCIL) ले सहयोग प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले सहभागिता जनाएका थिए भने अध्यक्षता उपप्रमुखकै नेतृत्वमा सम्पन्न भएको थियो। यसैगरी, जनकपुरधाम प्रादेशिक अस्पतालकी डा. रुबि सिंह विशेष अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रमका मुख्य वक्ता अमित मिश्राले लैङ्गिकता, लैङ्गिक समानता, तथा लैङ्गिक हिंसाका विभिन्न आयामबारे प्रस्तुति दिएका थिए। उनले सबै जात, धर्म, र लिङ्गका व्यक्तिहरूलाई समान अवसर र पहुँच प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै लैङ्गिक विभेदले समाजमा पार्ने असरबारे जानकारी गराए। साथै, लैङ्गिक तथा घरेलु हिंसाविरुद्धको कानुनी प्रावधान र समाजलाई यी समस्याबाट मुक्त गर्न अपनाउन सकिने उपायहरूबारे विस्तृत चर्चा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख साहले आफ्नो सम्बोधनमा भने, “समाजमा रहेका विकृत सोच र धारणा परिवर्तन गर्न नसकुञ्जेल लैङ्गिक तथा घरेलु हिंसाको अन्त्य हुन सक्दैन। मानिसहरू अझै आफ्ना समस्या सार्वजनिक गर्न हिच्किचाउँछन्, जसले हिंसा लुक्न सक्ने खतरा बढाउँछ।”
उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, मानव अधिकारकर्मीहरू, सामाजिक अभियन्ताहरू, र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई फलदायी र समाजका लागि अत्यन्त आवश्यक प्रयासका रूपमा मूल्याङ्कन गरे।






