एनपीएलमा जनकपुर बोल्ट्स र नेपोभिट टाईल्सको साझेदारी, नेपाली क्रिकेटमा नयाँ ऊर्जा

२०८१ मंसिर १४, शुक्रबार १८:१८

जनकपुरधाम,१४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई भव्य बनाउन जनकपुर बोल्ट्सले नेपोभिट टाईल्सलाई आफ्नो डेकोर पार्टनरको रूपमा चयन गरेको छ। शनिबारदेखि सुरु हुने यस प्रतिष्ठित प्रतियोगिताको तयारीको क्रममा, जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपाल सेरामिक इण्डस्ट्रीद्वारा उत्पादन गरिने नेपोभिट टाईल्सका अध्यक्ष शम्भु नाथ झाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षर कार्यक्रम काठमाडौंमा आयोजित विशेष समारोहमा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद मनिस झाको उपस्थिति रहेको थियो। उनले जनकपुर बोल्ट्स र नेपोभिट टाईल्सको यो सहकार्यलाई सकारात्मक कदमका रूपमा लिँदै नेपाली क्रिकेटको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे।

नेपोभिट टाईल्स नेपाल सेरामिक इण्डस्ट्रीको गुणस्तरीय उत्पादन हो, जसले सुरुबाटै गुणस्तर र उत्कृष्टताको मापदण्ड स्थापित गर्दै आएको छ। अध्यक्ष शम्भु नाथ झाले जनकपुर बोल्ट्ससँगको साझेदारीलाई गर्वको विषय बताउँदै, यो सहकार्यले टिमवर्क र दृढ संकल्पको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।

जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले नेपोभिट टाईल्ससँगको सहकार्यलाई ऐतिहासिक अवसरका रूपमा स्वागत गर्दै यसले दुबै पक्षलाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउने बताए। उनले एनपीएलको उत्साहलाई नेपोभिटको समर्थनले अझै बढाउने विश्वास व्यक्त गरे।

समारोहमा विशिष्ट अतिथिहरूलाई सम्मान स्वरूप माला र खादा अर्पण गरिएको थियो। नेपोभिटकी निर्देशक विभा झाले एनपीएलमा सहभागी सबै टिमलाई शुभकामना दिँदै, प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरिन्।

जनकपुर बोल्ट्स र नेपोभिट टाईल्सको यो सहकार्यले एनपीएललाई थप आकर्षक र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। क्रिकेटप्रेमीहरूले यस कदमलाई सकारात्मक रूपमा लिँदै नेपाली क्रिकेटमा यस्ता सहकार्यहरूले दीर्घकालीन प्रभाव पार्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?