धनुषामा पत्रकारमाथि दुव्र्यवहार: प्रहरीको गैरजिम्मेवारी रवैया

२०८१ मंसिर १६, आईतवार २१:५४

जनकपुरधाम, मंसिर १६ ।  धनुषाधाम नगरपालिका–१ मा वडाध्यक्ष पदको उपनिर्वाचन समाचार संकलनका क्रममा प्रहरीद्वारा पत्रकार चाँन्दनी झामाथि दुव्र्यवहार भएको छ।

प्राइम टेलिभिजनमा कार्यरत झा आइतबार ठाकुरप्रसाद स्मृति भवनस्थित मतदान स्थलमा समाचार सम्प्रेषणका लागि पुगेकी थिइन्। तर, मुख्य गेटमा खटिएका प्रहरी नायब निरीक्षक (सई) अशोक झाले परिचयपत्र देखाएपछि पनि उनलाई प्रवेश रोक्दै दुव्र्यवहार गरेका हुन्।

पत्रकार झाले भनिन्, “मतदानस्थलभित्र समाचार संकलन गर्न परिचयपत्र देखाएर प्रवेश गर्न लाग्दा सई अशोक झाले मलाई गेटबाट बाहिर निकाल्न निर्देशन दिँदै अपमानजनक व्यवहार गरे। जब मैले प्रवेश रोकको कारणबारे सोधें, उनले गैरजिम्मेवार जवाफ मात्र दिए।”

सहायक निर्वाचन अधिकृत प्रतीक्षा चौधरीले मतदान स्थलमा पत्रकारलाई प्रवेश रोक लगाएको जानकारी नरहेको बताइन्। “गोपनीयता भंग नगर्ने गरी पत्रकारले समाचार संकलन गर्न पाउँछन्। यो घटनाबारे हामी बुझ्नेछौं,” उनले भनिन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका सई झाको यस्तो व्यवहारले पत्रकारिता क्षेत्रमाथि दबाब सिर्जना गरेको छ। प्रहरीको भनाइ र निर्वाचन अधिकृतको धारणा फरक–फरक देखिनुले निर्वाचन प्रक्रियामा समन्वयको कमी प्रष्ट भएको छ।

यो घटनाले पत्रकारको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। पत्रकार झामाथि भएको दुव्र्यवहारको भर्त्सना गर्दै सञ्चार संस्थाहरूले घटनाको छानबिन र दोषीलाई कार्वाही गर्न माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?