विवाह पञ्चमी महोत्सव: जनकपुरधाम परिक्रमा क्षेत्रमा मदिरा तथा मासु बिक्रीमा प्रतिबन्ध

२०८१ मंसिर १८, मंगलवार १५:२१

जनकपुरधाम, मंसिर १८ । विवाह पञ्चमी महोत्सवलाई सौहार्दपूर्ण वातावरणमा मनाउन जनकपुरधाम उपमहानगरपालिका परिक्रमा क्षेत्रमा विशेष प्रतिबन्धात्मक निर्णय लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय, धनुषाले जारी गरेको सूचनाअनुसार मिति २०८१ मंसिर १९ गते राति १२:०० बजे देखि मंसिर २२ गते राति १२:०० बजे सम्म परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपंक्षी काटमार, माछा/मासु बिक्री वितरण, उत्पादन तथा अन्य नसालु पदार्थको सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

यो निर्णय मिति २०८१ मंसिर ९ गते सरोकारवालाहरुको बैठक र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम गरिएको हो। महोत्सवलाई शान्ति र धार्मिक वातावरणमा मनाउन सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ।

सूचनामा उल्लङ्घन गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार आवश्यक कारवाही गरिने चेतावनी समेत दिइएको छ। जनकपुरधामको परिक्रमा क्षेत्र र महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले सबै पक्षलाई यस निर्णयको पालना गर्न आग्रह गरेको छ।

विवाह पञ्चमी महोत्सवमा सहभागिता जनाउन आउने श्रद्धालु एवं पर्यटकहरूलाई यस नियमको सम्मान गर्दै धार्मिक भावनालाई उच्च प्राथमिकता दिन प्रशासनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?