जनकपुरधाममा घरेलू हिंसा विरुद्धको संवाद: न्यायिक भूमिका र चुनौतीमाथि प्यानल छलफल सम्पन्न

२०८१ मंसिर २३, आईतवार २३:२४

जनकपुरधाम,२३ मंसिर । जनकपुरधामस्थित होटल वेलकममा आयोजित एक विशेष प्यानल छलफल कार्यक्रममा घरेलू हिंसाको वर्तमान अवस्था र न्यायिक भूमिकाको विषयमा गहन संवाद सम्पन्न भयो। एशिया फाउन्डेसनको सहयोग र WOREC (Women’s Rehabilitation Center) को सहकार्यमा WHRD (Women Human Rights Defenders) द्वारा आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि गृह, सञ्चार तथा कानून मन्त्री माननीय राजकुमार लेखीले घरेलू हिंसाका घटनाहरूलाई अन्त्य गर्न न्यायिक र प्रशासनिक संरचनालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

प्यानलमा महोत्तरी जिल्ला अदालतका माननीय न्यायाधीश फन्नेश्वरी घिमिरेले न्यायिक प्रक्रियामा भएका चुनौती र सुधारका आवश्यकताहरूबारे आफ्ना विचार राख्नुभयो। जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले स्थानीय तहको भूमिकालाई सशक्त बनाउनुपर्ने कुरा उठाउनु भयो।

जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख निकिता मिश्रले महिलाहरूलाई न्याय दिलाउन प्रहरी प्रशासनको भूमिकाबारे जानकारी गराउनु भयो।

कार्यक्रममा सहभागीहरूले घरेलू हिंसाका घटनाहरूलाई रोक्न कानूनी चेतना, सामुदायिक सहकार्य, र न्यायिक पहुँचलाई सुधार गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याए।

कार्यक्रमले न्यायप्रणालीमा सुधारका लागि सुझाव संकलन गर्दै समुदायस्तरमा घरेलू हिंसा न्यूनीकरणमा प्रभावकारी रणनीति अवलम्बन गर्न प्रेरित गरेको आयोजकहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?