सिमरा विमानस्थल बाहिर रवि लामिछाने समर्थकहरूको प्रदर्शन

२०८१ मंसिर २४, सोमबार १६:३७

बीरगञ्ज,२४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा ल्याइँदैछ। उनलाई बुद्ध एयरमार्फत सिमरा विमानस्थलमा ल्याइने र त्यसपछि बीरगञ्जमा उपस्थित गराइने तयारी गरिएको छ।

बीरगञ्जस्थित सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम अपचलन मुद्दामा लामिछानेको संलग्नता रहेको आशंकामा पर्सा प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरेको छ। अदालतको आदेशपछि उनलाई सरकारी वकिल कार्यालयमा लगेर बयान लिने तयारी भइरहेको छ।

लामिछानेलाई पर्सा ल्याउने खबरसँगै सिमरा विमानस्थल बाहिर उनका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। “डरायो डरायो दुई तिहाइ डरायो”, “नडराउ रवि दाइ जनता तिम्रो साथमा छ” जस्ता नारासहित प्रदर्शनकारीले लामिछानेलाई समर्थन जनाएका छन्।

यसक्रममा सिमरा विमानस्थल र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालनले सुरक्षा निगरानी बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?