सर्लाहीमा आगलागी हुँदा एक बिघाभन्दा बढीको उखु जलेर नष्ट

२०८१ मंसिर २६, बुधबार १४:०७

सर्लाही,२५ मंसिर । सर्लाहीको हरिपुर नगरपालिका–१, मुसहरी टोलमा आज अपरान्ह भएको आगलागीले ठूलो धनमालको क्षति भएको छ। लखन्देही खोला छेउमा रहेको हरिपुर नगरपालिका–९, पिडारीका मोहम्मद इस्लाम अंसारीको एक बिघा ५ कठ्ठाको उखुबारी पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीका कारण उखुसहित सिँचाई मोटर, बिजुली मिटर र छाप्रोसमेत जलेर नष्ट हुँदा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ।

प्रहरीका अनुसार उखुबारीमा रहेको गुुइँठाको घुरबाट सल्किएको आगोले यस्तो ठूलो क्षति पुर्‍याएको हो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय तह र अन्य सम्बद्ध निकायले यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउन आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?