जनकपुरधाम,०३ पुष । माइती नेपाल धनुषाले मानव बेचबिखन तथा लैङ्गिक हिंसाका पीडितहरूको उद्धार, स्वदेश फिर्ति, र सामाजिक पुनर्स्थापनाका लागि स्पष्ट कार्यविधि कार्यान्वयन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ।
संस्थाले नेपाल-भारत सीमा नाकामा हुने मानव ओसारपसार नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउन ‘स्वदेश फिर्ति कार्यविधि’ अविलम्ब लागू गर्न माग गरेको हो। यसअघि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ ले विदेशमा अलपत्र परेका पीडितहरूको उद्धार र स्वदेश फिर्ति व्यवस्था गरे पनि कार्यविधि अभावका कारण समस्या उत्पन्न भएको माइती नेपालले जनाएको छ।
कार्यक्रम संयोजक पुरुषोत्तम कुमार यादवका अनुसार यस उद्देश्यलाई साकार पार्न हस्ताक्षर अभियान सञ्चालन गरी सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ। माइती नेपालले राज्य र सरोकारवालाहरूसँग सहकार्य गर्दै न्यायपूर्ण र विभेदरहित समाज निर्माणमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएको छ।






