जनकपुर बोल्ट्सको ऐतिहासिक सफलता: एनपीएल ट्रफीसहित जनकपुरधाममा भव्य स्वागतको तयारी

२०८१ पुष ९, मंगलवार १२:१६

जनकपुरधाम,०९ पुष । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स टोली बिहीबार साँझ जनकपुरधाम आउने छ। टोलीको ऐतिहासिक जितलाई उत्सवमय बनाउन जनकपुरधाममा भव्य कार्यक्रमहरूको तयारी गरिएको छ।

शुक्रबार, जनकपुरधामका खेलप्रेमीहरूले रजौलस्थित रामजानकी स्टेडियमबाट सुरु हुने नगरपरिक्रमा मार्फत आफ्ना हीरोहरूसँग गौरव साट्नेछन्। जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) का अनुसार, नगर परिक्रमा पछि जानकी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ।

टोलीलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा बाजागाजासहित समर्थकहरूको भीड जम्मा हुने तयारी छ। क्रिकेट संघले यो ऐतिहासिक अवसरलाई विशेष बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको छ।

गत शनिबार काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम टीमलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको थियो। यो जितसँगै जनकपुरको नाम नेपाली क्रिकेट इतिहासमा सुनौलो अक्षरले अंकित भएको छ।

पहिलो पटक आयोजना गरिएको एनपीएलको उपाधि जित्दै, जनकपुर बोल्ट्सले सम्पूर्ण मिथिलाञ्चल र नेपाली क्रिकेटमा गौरवको प्रतीक बनेको छ। नगरपरिक्रमा र ट्रफी प्रदर्शनले यो क्षणलाई अझ विशेष बनाउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?