जनकपुरधाम,१२ पुष । जनकपुरस्थित स्टुडेन्ट कोचिङ्ग सेन्टरमा आज “धनभन्दा विद्या ठुलो कि विद्याभन्दा धन ठुलो” विषयक वादविवाद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। यस प्रतियोगितामा कोचिङ्गमा अध्ययनरत विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।
प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्नेहरूमा कक्षा ९ का रोहित महरा प्रथम, कक्षा ८ की राधिका मुखिया द्वितीय, कक्षा ८ का मोहम्मद तहसिन रेजा तृतीय, कक्षा ८ की सिमी मुखिया चतुर्थ र कक्षा ८ की मधु साह पञ्चम स्थानमा रहे।
कार्यक्रमका विशिष्ट अतिथि विद्यार्थी युवा नेता इजाज अन्सारीले विद्यार्थीहरूको तार्किक प्रस्तुतिबाट आफू प्रभावित भएको बताउँदै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीसँग हातेमालो गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रमका सभाध्यक्ष तथा कोचिङ्गका प्रिन्सिपल तनविर रेजा राइनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र क्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, उनले शिक्षक र अभिभावकको जिम्मेवारीबोधलाई जोड दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा निर्णायकहरूको रूपमा रणजीत महतो र सिकिन्दर साह तथा उद्घोषकको रूपमा सिधिनाथ साहले भूमिका निर्वाह गरे। प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई ट्रफी र मेडल प्रदान गरी सम्मान गरिएको थियो।
यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई आफूभित्र लुकेको प्रतिभा प्रस्तुत गर्न अवसर प्रदान गर्नुका साथै शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।






