सर्लाही,१७ पुष । सर्लाही जिल्लाको बलरा नगरपालिका–९ स्थित छतौनामा गएराति यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको निधन भएको छ।
ड्युटीमा रहेका निरीक्षक तुलाधरलाई राति करिब ८:४५ बजे बसले थिचेको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, चिकित्सकले राति ९:४५ बजे मृत घोषणा गरे।
दुर्घटना सशस्त्र प्रहरी बलको बीओपी छतौनाको गेट अगाडि भएको हो। घटनाको कारण हालसम्म स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धानले बस अनियन्त्रित भएको देखाएको छ।
यस दु:खद घटनाले सुरक्षाकर्मीको ड्युटीमा रहेको जोखिमप्रति सबैको ध्यान आकर्षित गराएको छ।
दुर्घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ।






