चिसोको कहर: गौर–८ का ४१ वर्षीय पुरुषको आकस्मिक निधन

२०८१ पुष २२, सोमबार १४:२१

रौतहट,२२ पुष । गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा शनिबार दिउँसो चिसो मौसमको प्रभावले ४१ वर्षीय एकरामुल हकको आकस्मिक निधन भएको छ।

परिवारका अनुसार हक शनिबार बिहान टेम्पु चलाएर गौर गएका थिए। करिब १० बजे खाना खान घर फर्केका उनी खाना खाएर गाउँमा आगो ताप्न गएका थिए। आगो ताप्ने क्रममा अचानक हिचकी आएर अचेत भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

मृतककी श्रीमती जमिला खातुनले यो घटना अप्रत्याशित भएको बताउँदै भनिन्, “खाना खान आउँदा ठिकै देखिनुभएको थियो। तर, बाहिर गएको केही समयमा बेहोस भएको खबर आयो, जसले हामी सबैलाई स्तब्ध बनायो।”

स्थानीय बासिन्दाहरूले चिसो मौसमको प्रभावले स्वास्थ्य समस्या थपिँदै गएको बताएका छन्। हकको निधनले गाउँभरि शोकको वातावरण सिर्जना भएको छ।

यस घटनाले चिसोबाट जोगिन सावधानी अपनाउन जरुरी रहेको सन्देश दिएको छ। स्थानीय तहले चिसो मौसमसँग जुध्न तत्काल राहत र सहयोगका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग समेत स्थानीयहरूले उठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?