जनकपुरधाम,२९ पुष । देशमा केही गर्न सकिँदैन भन्ने मानसिकतामा बोकेका धेरै युवाहरूमाझ, जनकपुरधामका १९ वर्षीय आनन्द कुमार साहले एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत राराबमा स्नातक पहिलो वर्षमा अध्ययनरत आनन्द, पढाइसँगै डेरी व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्ने यात्रामा छन्।
आफ्नै खुट्टामा उभिन र देशमै केही गर्ने सोचले उनले एक वर्षअघि सानो डेरी उद्योग सुरु गरेका हुन्। उनी भन्छन्, “म आफ्नो डेरी व्यापारबाट पढाइ खर्च मात्र होइन, परिवारलाई पनि सहयोग पुर्याइरहेको छु। देशमै बसेर उद्यमी बन्ने मेरो सपना छ, र त्यसका लागि म अहिलेदेखि नै प्रयासरत छु।”
नगराइन नगरपालिकाको स्थायी बासिन्दा आनन्द अहिले जनकपुरधाममा भाडामा बस्छन्। आफ्नो घरपरिवारको पूर्ण साथ पाएका उनले व्यापारमा धेरै चुनौती भए पनि दृढ संकल्पले अघि बढिरहेका छन्। उनका अनुसार, “घरपरिवारको सहयोगले मलाई प्रेरणा मिलेको छ। सफल उद्यमी बन्ने मेरो अठोट छ।”
आनन्दजस्ता युवाहरूले देशमै केही गर्न सकिन्छ भन्ने विश्वास फैलाउँदै, अन्य युवाहरूलाई पनि प्रेरित गरिरहेका छन्।






