मधेश आन्दोलनका शहीदको स्मृतिमा बलिदानी दिवस मनाइयो, चितवन सौराहामा युवाको दीप प्रज्वलन

२०८१ माघ ५, शनिबार २३:००

जनकपुरधाम,०५ माघ । चितवनको सौराहामा ७ औं बलिदानी दिवसका अवसरमा युवाहरूले दीप प्रज्वलन गर्दै मधेश आन्दोलनका शहीदहरूको स्मरण गरेका छन्। प्रथम मधेश आन्दोलनको १८ औं वार्षिकीको अवसरमा मधेश प्रदेशका युवाहरूले रमेश महतोलगायत सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाएका हुन्।

२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको सहादत भएको दिनलाई सम्झनाका लागि यो दिवस मनाइने गरिन्छ। रमेश महतो मधेश आन्दोलनका प्रथम शहीद मानिन्छन्। संघीयताका लागि शुरु भएको आन्दोलनमा २०६३ माघ ५ गते आन्दोलनकारी र माओवादी कार्यकर्ताबीच भएको झडपमा माओवादी पक्षले चलाएको गोली लागेर महतोको निधन भएको थियो। उहाँको बलिदानले आन्दोलनलाई थप चर्काउँदै नेपाललाई संघीय राज्यका रूपमा रूपान्तरण गर्ने आधार तयार गरेको थियो।

चितवनको सौराहामा भएको कार्यक्रमका क्रममा प्रदेश युवा सञ्जाल मधेश प्रदेशका अध्यक्ष मो. नइम राईनले मधेश आन्दोलनका शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा गण्डकी, बागमती, मधेश, र कोशी प्रदेशका युवाहरूको उपस्थिति रहेको थियो।

युवाहरूले नागरिक संलग्नता, राजनीतिक सहभागिता, र चुनावी सुधारमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै एकता प्रदर्शन गरे। अध्यक्ष राईनको नेतृत्वमा मधेश आन्दोलनको उद्देश्य र शहीदहरूको योगदानलाई समर्थन गर्दै युवाहरूले दीप प्रज्वलन गरेका थिए।

कार्यक्रमले युवाहरूलाई संघीयताको महत्व बुझाउन र लोकतन्त्रलाई संस्थागत गर्न थप प्रेरणा दिएको सहभागीहरूले बताएका छन्। बलिदानी दिवसले राष्ट्रिय एकता र संघीयताप्रतिको प्रतिबद्धतालाई बलियो बनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?