मधेश प्रदेशमा मगही भाषा बचाउन आन्दोलन: मुख्यमन्त्री र शिक्षामन्त्रीविरुद्ध पुतला दहन

२०८१ माघ १०, बिहीबार १७:१४

जनकपुरधाम, माघ १० गते। मधेश प्रदेश सरकारले प्रस्तुत गरेको भाषा विधेयकको विरोधमा मगही भाषा अभियानीहरू आन्दोलित भएका छन्। अभियानीहरूले विधेयकलाई आफ्नो मातृभाषा र पहिचानमाथि भएको हमला भन्दै मुख्यमन्त्री र शिक्षामन्त्री रानी शर्मा तिवारीविरुद्ध प्रदर्शन गरेका छन्।

प्रदेशसभा भवन अगाडि फुलगेन मगही, बलिराम कापडी, बलदेव साह, श्याम साहलगायतका युवाहरूको नेतृत्वमा पुतला दहन गर्दै प्रदर्शनकारीहरूले “मगही भाषाको अधिकार सुनिश्चित गर” र “भाषा विधेयक खारेज गर” जस्ता नारा लगाएका थिए।

अभियानी फुलगेन मगहीले विधेयकले मधेशका स्थानीय भाषाहरूलाई उपेक्षा गर्दै बाह्य भाषालाई प्राथमिकता दिएको आरोप लगाउँदै भने, “मगही भाषा हाम्रो पहिचान हो। यसलाई संरक्षण र संवर्द्धन गर्नु प्रदेश सरकारको दायित्व हो, तर विधेयकले यसलाई ठाडो उल्लंघन गरेको छ।”

प्रदर्शनका क्रममा प्रहरीले कडा सुरक्षाका उपायहरू अपनाएको भए पनि आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। अभियानीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?