२९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा सोमबार आयोजित कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए । ‘गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु’, उनले भने, ‘गठबन्धनको जित सुनिश्चित छ ।’
शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै प्रचण्डले भने, “जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।” उनले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।
चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि कोरिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताउँदै अध्यक्ष दहालले डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे गर्न पहल गर्ने आश्वासन दिए । मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै उनले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने उनको दाबी छ । उनले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।






