जनमत पार्टीले समाजमा विद्यमान विकृति, विसङ्गति र विभेद अन्त्य गर्दै नागरिक चेतना अभिवृद्धि गर्न ‘सामाजिक जागरुकता अभियान’लाई गाउँ-टोलसम्म विस्तार गर्ने भएको छ।
पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउतले समाजमा सकारात्मक परिवर्तन, सामाजिक न्याय र लोकतान्त्रिक संस्कारको विकासका लागि वडा तहदेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अवधारणा अघि सारिएको जानकारी दिनुभयो।
डा. राउतका अनुसार सामाजिक रूपान्तरणका लागि राजनीतिक परिवर्तनसँगै नागरिकको सोच, व्यवहार र सामाजिक जिम्मेवारीमा पनि सकारात्मक परिवर्तन आवश्यक रहेको छ। समाजका हरेक नागरिकलाई सचेत, जिम्मेवार र उत्तरदायी बनाउँदै सामूहिक सहभागितामार्फत सामाजिक समस्याको समाधान खोज्नु आजको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभयो।
‘समाज बदल्ने सुरुवात, आफ्नै टोलबाट’ भन्ने नाराका साथ प्रत्येक वडा समितिले स्थानीय आवश्यकता अनुसार सामाजिक जागरुकता प्रभातफेरी, नागरिक संवाद, सरसफाइ तथा अन्य सेवामूलक गतिविधि सञ्चालन गर्नेछन्।
अभियानअन्तर्गत सरसफाइ, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तीकरण, जातीय विभेद तथा छुवाछुतविरुद्ध जनचेतना, युवा जागरण र लागुऔषध दुर्व्यसन नियन्त्रणजस्ता विषयलाई प्राथमिकता दिइने जनाइएको छ। त्यसैगरी, जात, भाषा, धर्म वा लिङ्गका आधारमा हुने विभेदविरुद्ध चेतना फैलाउँदै विविधताबीच एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन र राजनीतिक प्रतिस्पर्धासँगै नागरिक चेतना, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको संस्कृति विकास गर्नुपर्नेमा जोड दिँदै अभियानले नागरिकलाई अधिकार र कर्तव्यप्रति सजग गराउने पार्टीले जनाएको छ।
अभियानलाई एकदिने औपचारिक कार्यक्रममा सीमित नराखी साप्ताहिक रूपमा फरक-फरक सामाजिक विषय छनोट गरी परिणाममुखी बनाइनेछ। यस अभियानमा पार्टीका नेता-कार्यकर्ताका साथै स्थानीय युवा, महिला, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार र नागरिक अगुवाहरूको सक्रिय सहभागिता रहने जनाइएको छ।






