‘जनयुद्ध दिवस’का अवसरमा नुवाकोटका ४ पालिकामा सार्वजनिक विदा

२०८१ फाल्गुन २, शुक्रबार १३:५८

काठमाडौं,०२ फागुन । नुवाकोट- ३०औं माओवादी जनयुद्ध दिवसका अवसरमा नुवाकोटका चार पालिकामा आज सार्वजनिक विदा दिइएको छ ।

बेलकोटगढी नगरपालिका, ककनी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । पालिकाभित्रका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, शिक्षण संस्थाहरुमा विदा दिइएको छ ।

ती सबै पालिकाको प्रमुख माओवादी केन्द्रले जितेको छ । माओवादी बेलकोटगढी नगर समितिका अध्यक्ष गोकर्ण न्यौपानेले जनयुद्ध दिवस मान्न पाउने आफूहरुको अधिकार कसैले खोस्न नसक्ने बताए ।

कसैको दयामाया र निगाहमा नभई आफूहरुले लडेर ल्याएको व्यवस्थामा जनयुद्ध मान्न पाइँदैन भन्ने आदेश अस्वीकार्य रहेको उनको भनाइ थियो । सर्वोच्च अदालतले जनयुद्ध दिवस नमनाउन दिएको आदेश नमान्ने पनि न्यौपानेले उल्लेख गरे । ‘अदालतले जनयुद्ध दिवस नमनाउ भनेको सुनियो । जनयुद्ध अदातलको आदेशले होइन । जनताको आदेशमा भएको हो,’ उनले भने ।

आफूहरुले जितेका पालिकामा जनयुद्ध दिवस मनाउँदा जनताले विरोध नभई समर्थन गरेको दाबी पनि न्यौपानेले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?