जनकपुरधाम,०४ फागुन । राजर्षी जनक विश्वविद्यालयले आइतबार ‘राजर्षी जनक युनिभर्सिटी रिसर्च जर्नल’ (ए पियर रिभ्युड जर्नल) सार्वजनिक गरेको छ। विश्वविद्यालयले विशेष कार्यक्रमको आयोजना गर्दै अनुसन्धानमूलक जर्नल प्रकाशनमा नयाँ अध्याय सुरु गरेको हो।
कार्यक्रम अनुसन्धान केन्द्र, राजर्षी जनक विश्वविद्यालयका निर्देशक डा. मनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा विश्वविद्यालयका उपकुलपति (भिसी) डा. अमर प्रसाद यादव उपस्थित थिए भने विशेष अतिथिका रूपमा रजिस्ट्रार सत्यनारायण साहको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले विश्वविद्यालयमा अनुसन्धान संस्कृति प्रवर्द्धन गर्न जर्नलको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। प्रमुख अतिथि भिसी डा. अमर प्रसाद यादवले जर्नल प्रकाशनले शैक्षिक अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
राजर्षी जनक युनिभर्सिटी रिसर्च जर्नल पियर रिभ्युड जर्नल भएकाले यसले गुणस्तरीय अनुसन्धानलाई प्राथमिकता दिने विश्वविद्यालयले जनाएको छ। अनुसन्धानकर्ताहरूका लागि खुला प्लेटफर्म प्रदान गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको पनि आयोजकहरूले बताए।
यो जर्नल विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूका लागि एक प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।






