४ मंसिर । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आइतबारबाट कतारमा सुरु हुँदैछ । कतारको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दै छन् । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । मध्यपूर्वी तथा अरब देशमा आयोजना भएको यो पहिलो विश्वकप हो ।
सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ । कतारको आठ रंगशालामा विश्वकपको खेल आयोजना हुनेछ । यस संस्करणलाई यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको अन्तिम विश्वकपका रूपमा पनि लिइएको छ । अब यी दुई खेलाडीलाई विश्वकपको मैदानमा पुनः नदेखिने प्रायः पक्का छ । रोनाल्डो र मेसी मात्र होइन, रोबर्ट लेवान्डोस्की, लुइस सुवारेज, लुका मोड्रिच, डानी अल्भेज, म्यानुअर नुअर र थोमस मुलरजस्ता विश्वप्रसिद्ध फुटबलरको पनि अन्तिम विश्वकपका रूपमा हेरिँदै छ ।






